नदीभित्र गाडिएको थियो प्रहरी जवानको शव, भेटियो हराएको पेस्तोल पनि

कर्णाली दृष्टि संवाददाता धनगढी, ४ कार्तिक २०७७, मंगलवार १४:४१

धनगढी : प्रहरी  जवान रामबहादुर साउँदको शव भेटिएको ठाउँनजिकै पेस्तोल पनि  फेला परेको छ।

भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको शव भेटिएको थियो। शवनजिकै विकले बोक्ने गरेको पेस्तोल भेटिएको सिंहले बताए।

उनको शव गाडेको अवस्थामा फेला परेको थियो। प्रहरीले पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा जवानको शव भेटिएको प्रहरी स्रोतले बतायो।

‘पक्राउ परेका व्यक्तिलाई सँगै लिएर गएपछि उनले देखाएको ठाउँ खनेर हेर्दा प्रहरी जवानको शव फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो।

साउँदको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिँदैछ भने पेस्तोलको फरेन्सिक जाँच हुने सिंहले बताए।

धनगढी उपमहानगरपालिका-१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत् विक र साउँदलाई तस्करको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

असई विक र जवान साउँदलाई उस्तै प्रकृतिले हत्या गरिएको देखिएको छ। साउँदको पनि घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।, प्रहरीले हत्यामा संलग्न केहीलाई पक्राउ गरिसकेको बताएको छ।  @© setopati

Next Post

दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु , दुई जना गम्भीर घाइते ।

४ कार्तिक २०७७, मंगलवार १४:४१
दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा बा ४ ख ६७७१ नम्बरको टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन । घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिएका […]