जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ ।
डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको छ ।
वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउने अनेक प्रयास गरे पनि सफल नभएको तर अहिले आएर राम्रो काम भएको उहाँले बताउनुभयो ।
सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामाग्री हटाएको र नापी गरी सकेपछि सडक अतिक्रमण गरी बनाएका थप संचरना भत्काउने तयारी रहेको बताउनुभयो ।
नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने व्यवस्था छ । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । पछिल्लो समय फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।
अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ ।
जुम्ला बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहीमा पनि अतिक्रमण बढेकोले हटाउने अभियान गाउँ सम्म पु¥याइने सडक डिभिजनले जनाएको छ ।


