राष्ट्रिय सभा चुनावको तयारी पूरा

कर्णालीदृष्टी संवाददाता ११ माघ २०७८, मंगलवार ०७:३१

काठमाण्डौ । भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।

सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् । भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन बनाएका छन् । उनीहरूले चुनावमा लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।

कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै राष्ट्रिय सभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।

Next Post

माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने, बालबालिकालाई काेराेनाविरुद्धकाे खाेप लगाइने

११ माघ २०७८, मंगलवार ०७:३१
काठमाण्डाै – विद्यार्थीहरूलाई  काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने […]