चीनमा शीतकालीन ओलम्पिक्स सुरु

कर्णालीदृष्टी संवाददाता २२ माघ २०७८, शनिबार ०७:२२

काठमाण्डौ । शीतकालीन ओलम्पिक्स खेल चीनमा सुरु भएको छ । कोरोनाको नियन्त्रण, मानव अधिकार हननको आरोप र कुटनीतिक बहिष्कारका बीच बेइजिङमा ओलम्पिक्स सुरु भएको हो ।

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ । ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका धेरैजसो हिउँ मानवनिर्मित हुन् ।

चीनले शून्य कोभिडको अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेकाले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट बेचेको छैन ।

सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारीमात्र खेल हेर्नका लागि आमन्त्रित छन् । उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ । खेलाडी र व्यवस्थापनको टोलीलाई पनि कडा नियम लागू गर्दै सीमित चौघेराभित्र राखिएको छ ।

चीनले मानव अधिकार उल्लङ्घन गरेको भन्दै अमेरिका, बेलायतसहित विभिन्न देशले ओलम्पिक्समा कुटनीतिक बहिस्कार गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

२४ औँ संस्करणको शीतकालीन ओलम्पिक्सको बेइजिङ राष्ट्रिय रङ्गशालमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुभएको हो । ओलम्पिक्सको समापन समारोह पनि यही रङ्गशालामा हुनेछ । शीतकालीन ओलम्पिक्स आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ ।

Next Post

आजदेखि मौसममा सुधार हुने

२२ माघ २०७८, शनिबार ०७:२२
काठमाण्डौ – आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको […]