५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खाेप ल्याउँदैछाैँ : मन्त्री खतिवडा

कर्णालीदृष्टी संवाददाता २७ माघ २०७८, बिहीबार ०८:५५

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउँदा दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी सङ्गठनले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अबको केही दिनभित्र नै तेस्रो चरणको रूपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि बताउनुभयो ।

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरू गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरूलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले विपन्न नागरिकहरूको ओपीडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।

अनेरास्ववियुले भने विद्यार्थीहरूलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न लगायतका माग गरेको छ ।

Next Post

मध्य–पहाडी लोकमार्गः दोस्रो त्रैमासिक प्रगति झन् निराशजनक

२७ माघ २०७८, बिहीबार ०८:५५
काठमाडौं । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ । सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर […]

सम्बन्धित समाचार