मध्य–पहाडी लोकमार्गः दोस्रो त्रैमासिक प्रगति झन् निराशजनक

कर्णालीदृष्टी संवाददाता २८ माघ २०७८, शुक्रबार ०७:२३

काठमाडौं । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ ।

सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर झन् १९ दशमलव ३६ प्रतिशत मात्र रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू दोस्रो त्रैमासिक अवधिमा ६० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने र ६ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो । जसमा २० किलोमिटर मात्र कालोपत्रे भएको छ भने एउटा मात्र पुल निर्माण सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार सरकारले चालू वर्षमा २४० किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ भने २४ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।

यता, चालू आर्थिक वर्षको वार्षिक लक्ष्य २४० किमी सडक कालोपत्रे गर्ने रहे पनि हालसम्म ३३ दशमलव ५ किमी मात्र कालोपत्रे भएको छ । २४ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म एउटा मात्र सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

भौतिक प्रगति हुन नसक्दा पुँजीगत खर्च समेत बढ्न नसकेको पाइएको छ । दोस्रो त्रैमासिक अवधिका लागि लोकमार्ग निर्माणमा २ अर्ब ७१ करोड ७७ लाख विनियोजन गरिएको थियो । जसमा १ अर्ब ४२ करोड ३२ लाख अर्थात् ५२ प्रतिशत मात्र खर्च भएको छ ।

वार्षिक तुुलनामा ८ अर्ब ३ करोड ४५ लाख विनियोजन गरिएको छ । जसमा हालसम्म १ अर्ब ९२ करोड ८१ लाख मात्र खर्च भएको छ ।

निर्माणमा ढिलाइका कारण आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४० प्रतिशत बढी निर्माण कार्य बाँकी छ । अझै दुई दर्जन पुल तथा करिब साढे दुई सय किमी सडक ठेक्का समेत लाग्न बाँकी रहेकाले अबको डेढ वर्षमा निर्माण कार्य सम्पन्न हुन कठिन देखिएको छ ।

मन्त्रालयले २५ वटा पुल र २३६ किमी सडकको ठेक्का लाग्नै बाँकी रहेको जनाएको छ । कतिपयमा ठेक्का लागेर निर्माण नै नभएको अवस्था भए पनि त्यसको अनुगमन गर्ने र दोषीउपर कारबाही भएको पाइएको छैन ।

मन्त्रालयले कुल १८ सय ७९ मध्ये ६ सय ८५ किलोमिटर आयोजनाबाट र ४६२ किलोमिटर अन्य निकायबाट गरेर ११ सय ४७ किमी कालोपत्रे सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार १३७ पुलमध्ये ९१ वटा पुल सम्पन्न भएका छन् । राजधानी दैनीकमा खबर छ

Next Post

१८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने

२८ माघ २०७८, शुक्रबार ०७:२३
काठमाण्डौ । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो । मन्त्रालयका […]