५७ हजार मात्रा कोरोना खोप खेर गएको छानबिन समितिको निष्कर्ष

कर्णालीदृष्टी संवाददाता ४ फाल्गुन २०७८, बुधबार ०७:०२

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको उल्लेख छ ।

मन्त्री खतिवडालाई हिजो सोमवार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि आज मङ्गलवार मात्र सार्वजनिक गरिएको थियो ।

समितिले तयार पारेको प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६ सय ४० मात्रा खोप अहिलेसम्म प्राप्त भएको जनाइएको छ ।

यस्तै तीन करोड ३८ लाख २६ हजार तीन सय ३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६ सय ६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार तीन सय ५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ ।

कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ ।

यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ ।

यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ । खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दा बाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ ।

बुस्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुस्टर लगाएको देखिन्छ, प्रतिवेदनमा भनिएको छ ।

विभिन्न ठाउँमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाएको देखिएको छ ।

प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्णरूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिस्टरको पूर्णरूपमा प्रयोग नगरेको उल्लेख छ ।

प्रतिवेदनमा सात प्रदेश, ७७ जिल्ला र सा सय ४४ स्थानीय तहले मात्र खोपको विवरण उपलब्ध गराएका छन् ।

नौ स्थानीय तहले विवरण बुझाएनन्

प्रतिवेदनमा नौ स्थानीय तहले खोपको विवरण नबुझाएको बताइएको छ । प्रतिवेदनमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, काठमाण्डौको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिकाले अझै खोपको विवरण बुझाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो ।

Next Post

पढाउने समयमा लोकसेवा परीक्षाको तयारी नगर्न शिक्षकलाई निर्देशन

४ फाल्गुन २०७८, बुधबार ०७:०२
काठमाडौं । सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो । ‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा […]