अभिनेता पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

कर्णालीदृष्टी संवाददाता १५ फाल्गुन २०७८, आईतवार १७:३९

चितवन – नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध आज आइतवार बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।

गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताउनुभयो । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

‘किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ’, गिरीले भन्नुभयो, ‘भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने यकिन हुन्छ ।’ गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गएकाे फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन् । गायिकाको उजुरीपछि प्रहरीको फरार सूचीमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

Next Post

शैक्षिक सुधारका लागि जुम्लाका २२ विद्यालय छनोट

१५ फाल्गुन २०७८, आईतवार १७:३९
जुम्ला । जुम्ला जिल्लाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन् । एक नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तह रहेको जुम्लामा भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्कँदै गएका बेला शैक्षिक सुधारको लागि २२ विद्यालय छनोटमा परेका हुन् । चालु आर्थिक वर्षमा […]