नेपाल सरकारका पूर्वसचिव ई. भीम उपाध्यायले इन्जिनियर तथा प्राविधिकहरुमा विशेष अपिल गरेका छन् । नेपालमा करिब १ लाख प्राविधिक तथा इन्जिनियर रहेको बताउँदै उनले सबैलाई सहयोगका लागि आग्रह गरेका हुन् ।
सामाजिक संजालमा उनले लेखेका छन्, ‘इन्जिनियरहरु कुनै न कुनै रोजगारीमा हुन्छन्, यिनले प्रतिब्यक्ती आफ्नो आम्दानीबाट १–२ हजारका दरले मात्र पनि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई नियमित दान दिने हो भने अर्को वर्ष करोडौँ रकम संकलन हुने र यस्तो रकमबाट नेपालका होनहार युवाहरु आफ्नो रुचीका विषयमा आविष्कार केन्द्रमा गएर आफ्नो इनोभेसन कार्यमा दत्तचित्त भई लाग्न सक्थे ।’
साथै, उनले युवाहरुलाई आफू र मुलुक धनी बनाउने यो एक असल अवसर र पाइलासमेत हुनसक्ने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘यो सम्भव र सजिलै हुनसक्छ । अलिकति सबैले आ–आफ्नो मनभित्र यसो चियाउनुमात्रको बिलम्ब हो ।’
पछिल्लो समय उपाध्याय आविष्कार केन्द्रका लागि सहयोग जुटाउने अभियानमा लागेका छन् ।


