डोल्पा । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका डोल्पाका तीन जना शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । शिक्षण पेशामा समर्पित भई विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा उनीहरूलाई सम्मान गरिएको हो । सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, सुर्खेतले आर्थिक वर्ष २०८२।८३ को स्वीकृत कार्यक्रमअनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उत्कृष्ट कार्य गर्ने शिक्षकहरूको छनोट गरेको थियो । सोही क्रममा डोल्पाबाट तीन जना शिक्षक उत्कृष्ट घोषित भई सम्मानित भएका हुन् ।

सम्मानित हुने शिक्षकहरूमा जगदुल्ला गाउँपालिका दुई स्थित त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, काइगाउँका प्रधानाध्यापक जयबहादुर बस्नेत, मुड्केचुला गाउँपालिका–६ नर्कुस्थित मालिका माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका शिक्षक दामोदर ज्ञवाली तथा त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित जनप्रभा साधारण तथा प्राविधिक माध्यमिक विद्यालयकी द्वितीय शिक्षिका बुद्धा पहाडी रहेका छन् । शिक्षा विकास निर्देशनालयले उत्कृष्ट घोषित तीनै शिक्षकलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको जनाएको छ ।
निर्देशनालयका अनुसार शिक्षण पेशामा समर्पण, विद्यालय व्यवस्थापनमा योगदान, विद्यार्थीको शैक्षिक उपलब्धि सुधार तथा समुदायसँगको सहकार्यका आधारमा शिक्षकहरूको मूल्यांकन गरिएको थियो । सम्मानित शिक्षकहरूले प्रदेश सरकारबाट प्राप्त सम्मानले आफ्नो कार्यप्रति थप जिम्मेवारी र उत्साह थपिएको बताएका छन् । उनीहरूले शिक्षण पेशा केवल जागिर नभई समाज निर्माणको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा अझ मेहनतका साथ विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानाध्यापक जयबहादुर बस्नेतले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयासलाई प्रदेश सरकारले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यसले सम्पूर्ण शिक्षक समुदायलाई थप प्रेरणा मिल्ने बताए । त्यसैगरी शिक्षक दामोदर ज्ञवाली र बुद्धा पहाडीले पनि सम्मानले शिक्षण पेशाप्रतिको समर्पणलाई अझ मजबुत बनाएको प्रतिक्रिया दिएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षकलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्दा अन्य शिक्षकहरूलाई पनि सकारात्मक प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र पूर्वाधारका चुनौतीबीच पनि शिक्षकहरूले शिक्षण कार्यलाई निरन्तरता दिँदै आएका छन् । यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि उत्कृष्ट कार्य गर्ने शिक्षकहरूको पहिचान र सम्मानले शिक्षण पेशाको मर्यादा बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । यस कार्यक्रममार्फत शिक्षण पेशालाई थप सम्मानित र जिम्मेवार बनाउँदै विद्यालय शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।


