मनोनयन दर्ता सकिएसँगै केही स्थानमा गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म निर्विरोध

कर्णालीदृष्टी संवाददाता १३ बैशाख २०७९, मंगलवार ०७:३०

काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन । मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन ।

केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाका ३ वटा गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा निर्विरोध भएका छन ।

उनीहरुको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन । काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

त्यस्तै, डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन । यस्तै से फोक्सुन्डो गाउँपालिकामा नेकपा(एमाले) का तर्फबाट अध्यक्ष धावासम्डुक गुरुङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिकाको वडा नम्बर १, ३, ५, ६, ७ र ९ का वडाध्यक्षमा क्रमशः जिक्मेछोइङ लामा,पेमागिर्मे गुरुङ,कार्मातार्के गुरुङ,रिग्जिन गुरुङ,पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध भएका छन ।

हुम्ला, ताप्लेजुङ र मनाङका केही वडामा एकल उम्मेदवारी दर्ता भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा वडा अध्यक्षसहित ४ जनाको मात्र उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा जाङकी फुटी तामाङ र सदस्यमा हल्जीका छिरिङ तोन्डुप र तिलका तोन्डुप लामाले मनोनयन दर्ता गराएका हुन ।

यस्तै मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एक जना र चार सदस्यका लागि चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

वडा अध्यक्ष माओवादीका चोल्पा गुरुङ, वडा सदस्यमा कांग्रेसका अनिल गुरुङ र एमालेका धनबहादुर गुरुङ सहित महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुस्मिता सेन्चुरीको मात्र उम्मेदवारी परेको छ ।

निर्विरोध भएपनि विजेता घोषणा हुन बैशाख ३० सम्म कुर्नुपर्ने भएको छ । ताप्लेजुङको फत्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने चीनको सीमावर्ति क्षेत्र ओलाङचुङगोलामा पनि सर्वसम्मत रुपमा जनप्रतिनिधि चुनिएका छन ।

गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरेपनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै उनीहरूले बाँडेर सर्वसम्मतिमा उम्मेदवारी दर्ता गरेका हुन । वडाध्यक्षमा छेतेन शेर्पा, सदस्यहरूमा टासी शेर्पा र वाङ्ग्या शेर्पा तथा महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहम्फे विकको मात्र उम्मेदवारी दर्ता भएको हो ।

Next Post

दैलेखमा १ हजार ९ सय ८३ जनाको मनोनयन दर्ता

१३ बैशाख २०७९, मंगलवार ०७:३०
दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार नौं सय ८३ जनाले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्लाको दुल्लू नगरपालिकामा दुई सय ५४, आठबीस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, र नारायण […]