दैलेखमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान

कर्णालीदृष्टी संवाददाता २५ बैशाख २०७९, आईतवार ०९:२१

दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिईएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगर्त मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी एक दिने प्रशिक्षण तालीम दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय निर्वाचन (जनशक्ति व्यवस्थापन निर्देशिका २०७८) बमोजिम निर्वाचन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी प्रशिक्षण तालिम दिएको हो ।

जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई समुहमा विभाजन गरी प्रशिक्षण गर्न लागेको बताउनुभयो । उहाँले नारायण बहुमुखी क्याम्पस रामपुरमा पहिलो दिन दुल्लु नगरपालिका, आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, ठाटिकाँध गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिईएको जानकारी दिनुभयो ।

यस्तै आइतवार दोस्रो दिन नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण गरिएको जिल्ला निर्वाचन अधिकारी काउचाले बताउनुभयो ।

प्रक्षिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्वाचनलाई स्वच्छ मर्यादित बनाउन प्रमुख भूमिका मतदान अधिकृतको रहेको बताउँदै मतदान अधिकृतले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनभयो ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता हरि प्रसाद घिमिरेले मतदान अधिकृतहरूलाई कानुनी विषयमा जानकारी गराउँदै कानुन भन्दा बाहिर गएर कुनै पनि काम नगर्न आग्रह गर्नुभयो ।

मतदान अधिकृतलाई जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछाने, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, डीएसपी भुवनेश्वरप्रसाद साह, निर्वाचन अधिकारी मनमाया काउचा लगायतले प्रशिक्षण दिईएको बताईएको छ ।

दैलेखमा जिल्लाभर कुर १ सय ३६ मतदान स्थल र २०७ मतदान केन्द्र रहेका छन् । मतदान अधिकृतलाई प्रशिक्षण सम्पन्न भएलगत्तै मतपत्र र अन्य निर्वाचन सामाग्री दिएर मतदान केन्द्रमा पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Next Post

पालिका प्रमुखमा २ सय ३२ जना महिलाको उम्मेदवारी

२५ बैशाख २०७९, आईतवार ०९:२१
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख पदका लागि देशभरिबाट २ सय ३२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा १ सय ५५ जना, उपप्रमुखमा १ हजार ४ सय ३४ र उपाध्यक्षमा १ हजार ६ सय ४३ महिला उम्मेदवार छन् । प्रदेश […]