
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको छ । दुई दिन सम्म सञ्चालन भएको नगरसभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो ।
नगर उपप्रमुख सुस्मिता सापकोटाले सिमित स्रोत साधन, आन्तरिक आयको कमीका बावजुद पनि नीति कार्यक्रम उल्लेख गरिएका कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धन लगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट ल्याएको बताइन् । उनका अनुसार आगामी वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँट ११ करोड १५ लाख ५२ हजार, शसर्त अनुदान ६७ करोड ३६ लाख ४४ हजार, समपुरक अनुदान ८७ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख ४६ हजार, शसर्त अनुदान नौ करोड ८४ लाख २६ हजार, समपुरक अनुदान एक करोड, सामाजिक सुरक्षा भत्ता १३ करोड ५० लाख र आन्तरिक आय दुई करोड रुपियाँ स्रोतको रूपमा उल्लेख गरिएको छ । विनियोजनको पक्षमा हेर्दा पूर्वाधार विकासमा सबैभन्दा ठुलो ५३ करोड ९६ लाख ७३ हजार रुपियाँ छुट्याइएको छ । त्यसपछि सामाजिक विकासतर्फ ४५ करोड ४४ लाख ५८ हजार, आर्थिक विकासमा चार करोड ५० लाख एक हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६५ लाख र संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड ४२ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ ।


