रुकुमपश्चिम । रुकुमपश्चिमका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि तीन अर्ब ६२ करोड ८८ लाख ९६ हजार ५५० रुपियाँको बजेट ल्याएका छन् ।
चालु र पुँजीगत खर्च समेटिएको बजेट मार्फत सबै स्थानीय तहले सामाजिक विकास, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् ।
चौरजहारी नगरपालिकाको २१ औँ नगर सभामा उपप्रमुख ईश्वरी शमाए बिंमले पेश गरेको कार्यक्रम र बजेट पारित समेत भएको छ । चौरजहारीले कुल ८१ करोड ९४ लाख ८३ हजारको बजेट पारित गरेको हो । यो संघसंस्थाहरु समेतको बजेट हो । संघसंस्थाहरुको बाहेक संचित कोषको बजेट भने ५७ करोड ४१ लाख ९५ हजार २५ रुपियाँ रहेको छ । जसमध्य चालुतर्फ ७४।५९ प्रतिशत अर्थात ४२ करोड ८३ लाख १९ हजार ७८८ र पुँजीगततर्फ २५।४० प्रतिशत अर्थात १४ करोड ५८ लाख रहेको छ ।
मुसिकोट नगरपालिकाको १५ औँ नगर सभामा उपप्रमुख बिमलकुमार पुनले ६९ करोड ९९ लाख ९४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गरेका छन् । जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार दुई सय अर्थात् ७५।३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात २४।७० प्रतिशत रहेको छ । त्यसैगरी, आठबिसकोट नगरपालिकाको १८ औँ नगरसभा ७६ करोड ३८ लाख ६९ हजार रुपियाँको बजेट पेस भएको छ । नगर उपप्रमुख धनकुमारी शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात ६४।६० प्रतिशत र पुँजीगत तर्फ २७ करोड चार लाख ३७ हजार अर्थात ३५।४० प्रतिशतको बजेट विनियोजन गरेको जानकारी दिइन् ।
त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजुकमारी रेउलेले आगामी आर्थिक वर्ष ०८२÷०८३ को लागि ५४ करोड ८६ लाख ३२ हजारको बजेट गाउँसभामा पेस गरेकि छन् । कुल बजेटमध्य चालु तर्फ ४१ करोड ५४ लाख ३२ रुपियाँ अर्थात् ७५।७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात २४।२८ प्रतिशत बजेट रहेको छ । सानीभेरी गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष कमला रोका पुनले ५३ करोड ९७ लाख छ हजार ९९९ रुपियाँ बजेट पेस गरेकि छन् । जसमध्ये चालु तर्फ ३९ करोड ३३ लाख ९२ हजार चार सय ३२ अर्थात ७२।८९ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ६३ लाख १४ हजार पाँच सय ६७ रुपियाँ अर्थात् २७।११ प्रतिशत रहेको छ ।
बाँफिकोट गाउँपालिकाको १८ औं गाउँसभामा ५० करोड २५ लाख ७४ हजार ५६३ रुपियाँको बजेट पेस भएको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले उक्त अनुमानित बजेट पेश गरेकि हुन् । कुल बजेटमध्ये ३१ करोड ७५ लाख २५ हजार ६५५ रुपियाँ चालु तर्फ र १८ करोड ५० लाख ४८ हजार ९०८ रुपियाँ पुँजीगत तर्फको रहेको छ ।