हुम्ला – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीले प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले दल रावल, दल फडेरा र सौमती ऐडीको नाम केन्द्रमा सिफारिस गरेको हो । सिफारिस सूची सार्वजनिक भएसँगै जिल्लाभित्र मिश्रित प्रतिक्रिया देखिएको छ । सिफारिस गरिएकामध्ये दल रावल यसअघि पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेता हुन् । उनले अधिकांश निर्वाचनमा पराजय भोग्दै आएका छन् ।

त्यस्तै, दल फडेराले पनि विगतका चुनावहरूमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्। सौमती ऐडीलाई भने समावेशी प्रतिनिधित्वका आधारमा सिफारिस गरिएको बुझिएको छ । युवालाई प्रत्यक्षतर्फ अवसर नदिइएको भन्दै एमाले हुम्लाभित्र असन्तुष्टि बढ्दै गएको छ । पार्टीभित्र नयाँ नेतृत्व र पुस्तान्तरणको माग उठिरहेका बेला पुरानै अनुहारलाई प्राथमिकता दिइएको भन्दै आलोचना सुरु भएको हो ।


