काठमाडौँ । ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामापछि बुधबार राति ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने तयारी गरिएको छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको गैरदलीय चुनावी सरकारमा घिसिङले एकैसाथ तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा घिसिङ आफूले स्थापना गरेको ‘उज्यालो नेपाल पार्टी’लाई एकीकरण गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई दलीय गतिविधिमा सक्रिय देखिएका थिए ।
गैरदलीय सरकारका मन्त्री भएर दलगत गतिविधिमा संलग्न भएको भन्दै उनको चर्को आलोचना हुँदै आएपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएकी थिइन् । यसअघि मंगलबार आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको अभिव्यक्ति दिएका घिसिङलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने चेतावनी दिएपछि उनले बुधबार राति राजीनामा दिएका हुन् । यसैबीच प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन निर्देशन दिएकी छन् । खरेल र गुप्ता दुवै रास्वपा निकट रहेको बताइएको छ ।



