रोल्पा । नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित हुनुभएको हो । आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाउनुभयो ।
मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो । सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन ।
पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्मेदवार हुने निश्चित भएपछि तत्कालीन उपसभापति आचार्यलाई सभापति पदमा उम्मेदवार हुने ढोका खुलेको थियो ।
सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल पक्षकाले नै जितेका छन । उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षेत्री र सुनिलकुमार ओली विजयी भएका हुन ।