प्राचीन तामाखानी अझै ओझेलमा, अन्वेषण र उत्खननमा सरकारको बेवास्ता

कर्णाली दृष्टि संवाददाता २६ पुष २०८२, शनिबार १०:३९

मुगु ।  मुगु  जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–१ अन्तर्गत डोल्फुको नाम्लाङखोला क्षेत्रमा अवस्थित प्राचीन तामाखानीको अन्वेषण तथा उत्खननका लागि लामो समयदेखि माग उठ्दै आए पनि सरोकारवाला निकायले कुनै ठोस कदम चालेका छैनन् । स्थानीय सरकारदेखि जनप्रतिनिधिसम्मले पटक–पटक सङ्घीय सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो बढ्दै गएको छ । संघीयता कार्यान्वयनपछि तामाखानी उत्खनन हुने आशामा बसेका स्थानीयवासी सरकारको उदासीनताका कारण निराश बनेका छन् । डोल्फुगाउँदेखि करिब पाँच घण्टा पैदल दूरीमा पर्ने नाम्लाङखोला क्षेत्रका पालाङ्जे, इटिङ र थोङ्वा आसपासका पहाडहरूमा प्रशस्त तामाको भण्डार रहेको स्थानीयवासी बताउँछन् । स्थानीय बासिन्दा टुन्डुल लामाका अनुसार तामाखानीको अन्वेषण तथा उत्खननका लागि बारम्बार माग गरिए पनि सम्बन्धित निकायले चासो नदेखाएको छ ।

यस्तै, पाल्जुकार्मा लामाले चार दशकअघि डोल्फुगाउँका करिब ५५ घरधुरीले तामाखानीबाट तामाका डल्ला निकालेर भाँडाकुँडा निर्माण गरी जिल्लाभित्र बिक्री गर्ने गरेको स्मरण गर्नुभयो । अहिले कुनै पहल नहुँदा त्यो परम्परागत व्यवसाय लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । छायानाथ रारा नगरपालिका–११ का स्थानीय सर्जन बुढाका अनुसार दोल्फुका लामा समुदायले स्थानीय प्रविधिबाट तामाका ताउला, गाग्री, हुँडा, खँड्कुलालगायत सामग्री बनाइ मुगु, हुम्ला, डोल्पा, कालीकोट र जुम्लासम्म बिक्री गर्ने गर्दथे । उहाँले डोल्फुको तामा गुणस्तरमा भारतको तामाभन्दा उत्कृष्ट रहेको दाबी गर्नुभयो । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कर्णाली प्रदेशकै महत्वपूर्ण सम्पत्ति हुँदाहुँदै पनि तामाखानी उत्खननमा प्रदेश र सङ्घीय सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । तामाखानी सञ्चालन हुन नसक्दा स्थानीय युवाले रोजगारी पाउन नसकेको र जिल्लाको सम्भावना प्रचार हुन नसकेको उहाँको भनाइ छ ।

स्थानीय समाजसेवी ग्याल्जो लामाका अनुसार करिब ६० वर्षअघि तामा उत्खनन गरी परम्परागत रूपमा प्रशोधन गरेर जीविकोपार्जन गर्ने चलन थियो । तर सन् १९७५ देखि सरकारले तामाखानी उत्खननमा प्रतिबन्ध लगाएपछि दोल्फुका लामा समुदायको व्यवसाय संकटमा परेको उहाँले बताउनुभयो । गाउँपालिकाले खानी तथा भूगर्भ विभागमा लिखित र मौखिक रूपमा पटक–पटक अन्वेषण तथा उत्खननका लागि आग्रह गर्दै आएको जनाएको छ । गत माघ ३ गते गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाको नेतृत्वमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटी औपचारिक मागसमेत गरिएको थियो । महानिर्देशकले चालु आर्थिक वर्षमै बजेट व्यवस्था गरी अन्वेषण अघि बढाउने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रगति नदेखिएको गाउँपालिकाका उपाध्यक्ष छिरिङ फुटिङ लामाले जानकारी दिनुभयो ।

Next Post

कांग्रेस परिवारवाद र गुटबन्दीबाट मुक्त भयो। सभापतिमा गगन थापा

२६ पुष २०८२, शनिबार १०:३९
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए। थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी […]