प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि जाजरकोटमा ९८२ जना निर्वाचन प्रहरी भर्ना

कर्णाली दृष्टि संवाददाता २ माघ २०८२, बिहीबार २०:१२

जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि जाजरकोट जिल्लामा ९८२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्नाको सूचना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटमा दरखास्त दिनेको चाप बढेको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्तकुमार शर्माका अनुसार उम्मेदवारले फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।

जिल्ला प्रहरी कार्यालयबाट ८८६ जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट ९६ जना गरी कुल ९८२ जना निर्वाचन प्रहरी छनोट गरिनेछ । हालसम्म जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ८८२ जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटमा ६५ जनाले दरखास्त दिइसकेका छन् ।

निर्धारित समयसम्म करिब १,२०० भन्दा बढी आवेदन पर्ने अनुमान गरिएको छ । डिएसपी शर्माका अनुसार निर्वाचन प्रहरीका उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने प्रावधान रहेको छ । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा मित्रराष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त सुरक्षाकर्मी, पूर्व वन रक्षक, साथै हालै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो ।

त्यस्तैनिर्वाचन प्रहरीमा दरखास्त दिई छनोटमा परेकालाई माघ १३ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण प्रदान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन प्रहरीका लागि दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट संकलन भइरहेको छ ।

Next Post

जाजरकोट भूकम्पले क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु

२ माघ २०८२, बिहीबार २०:१२
रुकुमपश्चिम  ।  जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । मुसीकोट नगरपालिका–१ मा अवस्थित कार्यालय परिसरमा एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुईवटा भवन निर्माण कार्य अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालयको पुरानो भवन २०८० कात्तिक १७ गते आएको भूकम्पका कारण […]