भैरबी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सम्पन्न

कर्णाली दृष्टि संवाददाता २ माघ २०८२, बिहीबार २०:४९

दैलेख। भैरबी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन तथा हिउँदे गाउँसभा बिहीबार सम्पन्न भएको छ। यस अधिवेशनले अघिल्लो १७ औँ गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आवश्यक संशोधनसहित महत्वपूर्ण विधेयकहरू पारित गरेको छ।

पालिकाको १८ औँ अधिवेशनले विनियोजन विधेयक, आर्थिक कार्यविधि विधेयक लगायत विभिन्न योजना तथा कार्यक्रमहरू संशोधन गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो। केही समयदेखि आएको आन्तरिक विवादका कारण गाउँकार्यपालिका बैठक तथा गाउँसभा प्रभावित हुँदै आएकोमा यसपटक भने कुनै विवादबिना अधिवेशन सम्पन्न भएको छ।

हिउँदे गाउँसभाको अवसरमा गाउँपालिका कार्यपालिका अन्तर्गत गठन गरिएका विभिन्न समिति तथा उपसमितिहरूले चालु आर्थिक वर्ष २०८२र०८३ को पछिल्लो ६ महिनाको प्रगति प्रतिवेदन गाउँसभा समक्ष प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि गाउँसभाका सदस्यहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको सहजीकरण गाउँसभा अधिवेशनका सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष देबी भण्डारीले गर्नुभएको थियो। छलफलपछि सभाबाट सबै प्रगति प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्।

अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले विगत ६ महिनामा गाउँकार्यपालिकाबाट सम्पादन भएका गतिविधि, विकास निर्माणका काम, सेवा प्रवाहको अवस्था तथा समग्र उपलब्धि समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि गाउँपालिकाले प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै आएको बताउनुभयो।

गाउँसभा सम्पन्न पश्चात सम्बोधन गर्दै सभाध्यक्ष देबी भण्डारीले विगत कार्यकालको समीक्षा गर्दै आगामी दिनहरूमा समृद्ध भैरबी गाउँपालिका निर्माणका लागि सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू एकमत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उक्त पालिकाकी अध्यक्ष रिता शाहीको कार्यव्यस्तताका कारण अधिवेशनमा उपस्थित हुन नसक्दा उपाध्यक्ष देबी भण्डारीको सभाध्यक्षतामा १८ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ।

Next Post

डुङ्गेश्वरमा फिनल्याण्ड परियोजनाको प्रारम्भिक कार्यशाला गोष्ठि सम्पन्न

२ माघ २०८२, बिहीबार २०:४९
दैलेख । डुङ्गेश्वर गाउँपालिकामा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित “जलवायु परिवर्तनका लागि लक परियोजना” को प्रारम्भिक कार्यशाला गोष्ठि औपचारिक रूपमा सम्पन्न भएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई न्यूनीकरण गर्दै विशेषगरी खानेपानीका मुहान संरक्षण, वातावरणीय सन्तुलन र जल व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त परियोजना अघि बढाइएको हो । विभिन्न […]