
डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटबाटै धमाधम राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
घर आँगनबाटै सेवा दिने उद्देश्यले नगरपालिकाको केन्द्रबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । सेवा सुरु गरेको १० दिनमै ४ सय ५२ जनाले परिचयपत्र लिएका छन् । सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्न लगायतका सेवा लिन राष्ट्रिय परिचय अनिवार्य गरेपछि जनतालाई सहज बनाउन घुम्ती टोली नै ल्याएर नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाइएको हो । त्रिपुराकोटवासीलाई अब राष्ट्रिय परिचय बनाउन समय र पैसा खर्च गरेर सदरमुकामनै धाउनु पर्ने अवस्था नरहेको नगरपालिकाको भनाइ छ । घुम्ती टोलीले छ महिनासम्म यतै बसेर सेवा दिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्टेसन नै खडा गरेर भइरहको राष्ट्रिय परिचयपत्र वितरणमा संलग्न कर्मचारीलाई नगरपालिकाले नै खाने÷बस्ने सुविधा मिलाएको छ । यसअघि नै जिल्लाको तल्लो भेगमा पर्ने मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणकार्य सकिसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । नेपाल टेलिकमको इन्टरनेट सेवाको सेवा विस्तार नहुँदा उपल्लो डोल्पाका तीनवटा पालिकामा राष्ट्रिय परिचय पत्र वितरण गर्न समस्या भएको उनको भनाइ छ ।


