राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै

कृष्ण शर्मा ८ भाद्र २०७८, मंगलवार १५:००

सुर्खेत — लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।

दैलेखको गुराँस गाउँपालिकास्थित राउटे समुदायका युवती । तस्बिर स् ज्योतिरकान्तिपुर
एक वर्षअघि १५ वर्षीया सुरमान शाही र १२ वर्षीया मयो शाहीले एकै दिन विवाह गरे । मयोको ३२ वर्षीय दलबहादुर र सुरमानको ३४ वर्षीय शिवराजसँग विवाह भएको थियो । तर विवाह भएको ६ महिनामै एक साताको फरकमा श्रीमानहरू बिते ।

उनीहरूका बालबालिका पनि छैनन् । अत्यधिक मदिरा सेवनका कारण श्रीमान्हरुको मृत्यु भएपछि उनीहरू सानै उमेरमा एकल बनेका हुन् । राउटेको संस्कारअनुसार उनीहरूले दोस्रो विवाह गर्न पाउँदैनन् ।

राउटे महामुखिया मैनबहादुर शाहीका अनुसार समुदायमा एकल महिलालाई उल्टो ढोका भएको छुट्टै घर बनाएर राख्ने चलन छ । ‘हामी उनीहरूको इच्छाभन्दा चलेको परम्परामा ध्यान दिन्छौं,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएको संस्कार भएकाले परिवर्तन गर्न गाह्रो छ ।’ उनका अनुसार राउटे युवतीहरू सानै उमेरमा एकल हुनुको कारण गोत्र पनि हो ।

राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी ३ किसिमका शाहीहरूको बसोबास छ । उनीहरूबीच एकअर्काको थरमा मात्र विवाह हुन्छ । समुदायमा कल्यालको संख्या धेरै भएकाले स्ववंशी र रास्कोटी थरका किशोरीको चाँडो विवाह हुने गरेको उनले बताए । एउटै थरका युवाहरू धेरै हुँदा बालविवाह र अनमेल विवाह धेरै हुने गरेको उनले जानकारी दिए ।

कान्तिपुर बाट

Next Post

योजना आयोगको कामकारबाहीमा सरकार र कर्णाली प्रदेशसभा बाधक

८ भाद्र २०७८, मंगलवार १५:००
सुर्खेत — कर्णाली प्रदेश योजना आयोगको कामकारबाहीमा प्रदेश सरकार र कर्णाली प्रदेशसभा बाधक बनेको छ । अध्ययनमा आधारित योजना बनाउँदा पनि सरकार र संसद् बाधक बनेको आयोगका पदाधिकारीको गुनासो छ । आयोगका सदस्य दीपेन्द्र रोकायले संसद्बाट विभिन्न कानुन पास नहुँदा र सरकारले मौखिक योजनालाई प्राथमिकता दिँदा समस्या भएको बताए । ‘हामीले विभिन्न १० […]