कर्णाली प्रदेश सभाको वार्षिकोत्सवमा २६ सांसद अनुपस्थित

‘हामीले माहामारीका कारण कम सहभागितामै कार्यक्रम गरेका छौं,- सभामुख शाही

कर्णालीदृष्टि
कर्णाली दृष्टि संवादाता २१ माघ २०७७, बुधबार २२:४९

सुर्खेत :कर्णाली प्रदेश सभाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा २६ जना सांसदहरु अनुपस्थित भएका छन् । प्रदेशसभा सचिवालयले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना सांसदहरुको मात्रै सहभागिता देखिएको हो ।

अघिल्ला वार्षिकोत्सव समारोहमा सबै सांसदहरुको सहभागिता रहने गरेपनि यो वर्ष भने नेकपा विभाजनको असर वार्षिकोत्सवमा देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० सांसदमध्ये १४ जना मात्र कार्यक्रममा सहभागि थिए ।

प्रदेशसभाको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, मन्त्रीहरू विमला केसी, नन्द सिंह बुढा, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दान सिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का, खड्क खत्री र अमृता शाहीक मात्रै उपस्थित भए ।

‘प्रदेश सभा स्थापना दिवसमा सबै सांसदहरुको सहभगिता हुनुपर्ने हो । तर, आजको कार्याक्रममा त्यसो देखिएन्,’ कार्यक्रममा सहभागी नागरिक समाज सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले भने, ‘सांसदहरुले यो दिनलाई त्यति महत्व दिन छोडेको जस्तो लाग्यो ।’

प्रदेशसभामा नेकपाका ३३ सांसदहरू छन् जसमध्ये ओली समूहका १२ र प्रचण्ड–माधव समूहका २१ जना सांसदहरू छन् । तर, स्थापना दिवस समारोहमा ओली समुहका सभामुखसहित दुईजना सांसदको मात्रै सहभागिता रहेको थियो ।

नेकपा विभाजनसँगै सांसदहरु पार्टीको कार्यक्रममा व्यस्त देखिँदा प्रदेशसभाको कार्यक्रममा उनीहरुको सहभागिता न्यून देखिएको हो ।

आफ्नो निर्वाचन क्षेत्र दैलेखका नागरिकहरूसँग भेटघाटको कार्यक्रम भएकाले प्रदेशसभाको कार्यक्रममा सहभागी हुन नपाएको नेकपाका सांसद सुशिल थापाले बताए ।

त्यस्तै अर्का नेकपाका सांसद धर्मराज रेग्मीले पार्टीको कामको सिलसिलामा काठमाडौंमै रहेका कारण कार्यक्रममा सहभागि हुन नसकिएको बताए ।

यता कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोनाको कारण कम सांसदहरूको सहभागिता रहेको दाबी गरे । ‘हामीले माहामारीका कारण कम सहभागितामै कार्यक्रम गरेका छौं,’ सभामुख शाहीले भने, ‘नेकपा विभाजनको कारण सांसदहरुको उपस्थितिमा कमी आएको हैन् ।’

Next Post

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता विभिन्न ठाउबाट पक्राउ

२१ माघ २०७७, बुधबार २२:४९
काठमाडौं :काठमाडौं उपत्यकामा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला […]