पहुँचयोग्य र गुणस्तरीय शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने: प्रधानमन्त्री देउवा

विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा खुसी

साभार ३० भाद्र २०७८, बुधबार १५:३३

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए।

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे। विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए। जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो।

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए। प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ। बाँकी पुनर्निर्माणका क्रममा छन्।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन्। अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उनले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन्। मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको बताए।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए। रासस

Next Post

हाइटीका प्रधानमन्त्रीले देश छाड्न नपाउने

३० भाद्र २०७८, बुधबार १५:३३
काठमाडौं – हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ। गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो। एकजना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी […]