काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ ।
तीन जनाको अस्पताल पु¥याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच÷पाँच जनाको उपचार भइरहेको जनाइएको छ । यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन ्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो । यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए । प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो ।