जुम्लामा एमबीबीएस कक्षा सुरु

कर्णालीदृष्टी संवाददाता २० मंसिर २०७८, सोमबार १७:१५

जुम्ला – जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ ।  एमबीबीएसको  कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेकाे खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको गएको जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो  ।

आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये हिजो १५ जना भर्ना भएका छन् ।

प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । प्रतिष्ठानमा  यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङको अध्यापन पनि सुरु गरेको छ ।

ती दुवै विषयमा  २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा बीएनएस मिडवाइफ्री र बीपीएच पनि अध्यापन सुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन  गर्ने जनाएको छ ।  प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह  अध्यापनका लागि  ३ सय शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुलेको बताउनुभयो ।

कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पुर्याउँदै आएको छ ।  प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्था समेत गर्दै आएको छ ।

विगतमा सिटामोलको चक्की नपाउने कर्णाली अहिले विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ ।  कर्णालीले अब जडीबुटी मात्र होइन, देशलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने छ ।

Next Post

दैलेखकी एक सुत्केरी महिलाको हेलीकप्टरमार्फत उद्धार

२० मंसिर २०७८, सोमबार १७:१५
दैलेख । दैलेखको ठाँटीकाधकी एक सुत्केरी महिललाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ । सोमबार ठाटीकाध गाउपालीका वडा नम्बर ४ की २९ बर्षीया झुप्री शाहीलाई अत्याधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरी उपचारका लागी सुर्खेत लगीएको हो । सोमबार बिहान देखि नै सुत्केरी व्यथा लागकी शाहीलाई गाउँपालिकामा रहेको स्थानिय स्वास्थ्य […]