बादी समुदायका बालबालिका पढाइबाट वञ्चित

कर्णालीदृष्टी संवाददाता १५ पुष २०७८, बिहीबार १५:४०

सुर्खेत । दैलेख, कालिकोट, रुकूम पश्चिम लगायतका झन्डै १ सय २० बालबालिकालाई बादी सरोकार मञ्चले होस्टल स्थापना गरी सुर्खेतको वीरेन्द्रनगरमा पालनपोषण गरिरहेको छ । त्यसमध्यका ४४ जनाले नियमित विद्यालय जान पाएका छन । अन्य ७६ जना ५ महिनादेखि पठनपाठनबाट वञ्चित छन ।

दैलेखको दुल्लु नगरपालिकाका १४ वर्षी सुनील बादी पनि त्यही होस्टलमा बस्दै आएका छन । तर गाउँको सामुदायिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले सुर्खेत आएयता विद्यालय जान पाएका छैनन । ‘पढ्ने ठूलो रहर बोकेर सुर्खेत झरेको हुँ,’ उनले भने, ‘तर यहाँ आएदेखि विद्यालय जान पाएको छैन ।’ होस्टलमा बस्दा खान लगाउनको दुःख नभए पनि विद्यालय जान नपाएको उनको गुनासो छ ।

कालीकोटकी १३ वर्षीया करिश्मा बादी पनि उक्त होस्टलमा बस्दै आएकी छिन । ‘मलाइ पनि पढ्ने मन छ,’ उनले भनिन । उक्त होस्टलमा ५ वर्षदेखि २० वर्ष उमेर समूहका बालबालिका छन ।

बादी बालबालिकाहरू बालविवाह, बहुविवाह र कुलतमा फसेकाले त्यसबाट बचाउन उनीहरूलाई सुर्खेत ल्याएको बादी समुदायका अगुवा हिक्मत बादीले बताए । ‘बाबुआमालाई छोराछोरीको पढाइ र भविष्यको कुनै चिन्ता छैन,’ उनले भने, ‘अनि कसरी बादीहरू परिवर्तन हुन्छन ?’ उनले बादी बालबालिकालाई खानपिनको व्यवस्था गरी विद्यालय पठाउन होस्टल सञ्चालन गरिएको बताए ।

सहयोग गर्ने निकाय नहुँदा उनीहरूले पढ्न नपाएको उनको गुनासो छ । उनका अनुसार ४१ छात्रा र ३५ छात्र गरी ७६ बादी बालबालिका लामो समयदेखि वञ्चित भएका हुन । होस्टलकै अन्य ३८ जनालाई ‘लभ एन्ड होप नेपाल’ले पढाइदिएको छ । त्यस्तै, प्रदेश अस्पतालका डा. नवराज केसीले ६ जनाको पढाइ खर्चको जिम्मा लिएका छन । अन्य ७६ जनालाई कुनै निकायबाट सहयोग नभएको बादीले बताए ।

‘पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० जिल्लाका बादी समुदायका बालबालिकालाई होस्टल बनाएर राख्ने आवश्वासन दिएकाले पढ्न इच्छुक बालिबालिका ल्याइयो,’ उनले भने, ‘तर मुख्यमन्त्री नै परिवर्तन भएपछि बालबालिका फेरि सडकमा भौंतारिने र कुलतमा फस्ने जोखिम बढेको छ । # कान्तीपूरबाट

Next Post

दैलेखको काडासिरौलामा तमु ल्होसारको रौनक

१५ पुष २०७८, बिहीबार १५:४०
दैलेख । गूरुङ समुदायको माहान पर्व तमू ल्होसार बिहीवार दैलेखमा पनि मनाईएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर बिभीन्न कार्यक्रमका साथ दैलेखमा पनि तमु ल्होसार पर्व मनाईएको हो । तमू ह्यूल छोज धी (गूरुङ राष्ट्रिय परिषद) जिल्ला कार्यसमिती दैलेखको आयोजनामा यसपालीको तमू ल्होसारको अवसरमा […]