दैलेख । आफ्नै छोरी बलात्कार गरेको घटनामा संलग्न दैलेखका एकजनालाई ३५ वर्ष जेल सजाय सुनाइएको छ । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३६ वर्षीय बावुलाई ३५ वर्ष कैद, पीडित बालिकालाई एक लाख रुपैयाँ क्षतिपूर्ति र दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।
सोमबार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १० वर्ष कैद समेत गरी ३५ वर्ष कैदसंगै कसूरदारले क्षतिपूर्ति र नेपाल सरकारको पीडित राहत कोषमा उक्त रकम भराउनुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
२०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै २०७८ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोहि दिन ती पुरुषलाई घरबाटै पक्राउ गरेको थियो ।
कानूनी प्रक्रिया सुरु भएपछि कमाउने बावुलाई थुनाएको भन्दै पीडित बालिकाको घरका बाजेबज्यै र आफन्तले असहयोग गर्न थालेपछि अहिले ती बालिका मावली घरका बाजेबज्यैको संरक्षणमा कक्षा १२ को नियमित तर्फको पढाइलाई निरन्तरता दिएकी छन् ।
पीडित बालिका मावलीमा बस्दै आएकी छन । ३५ वर्षीया आमाको साथमा क्रमश १४ बर्षीया र १० वर्षीया बहिनी र ५ वर्षीय भाइ छन् ।
यसअघि पनि दैलेख जिल्ला अदालतले गत शुक्रवार मात्रै १४ बर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा जिल्ला सदरमुकाम नजिकैको एक गाउँका ३९ वर्षीय बाबुलाई ४३ वर्ष कैद र एक लाख रुपैंयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको थियो ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ बर्ष कैद तथा एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो ।


