आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै ।

कर्णाली दृष्टि संवाददाता १५ कार्तिक २०७७, शनिबार १३:५४

काठमाडौ  । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाआरधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरे ।

 

Next Post

भीम उपाध्यायले गरे इन्जिनियर तथा प्राविधिकमा विशेषअपिल ।

१५ कार्तिक २०७७, शनिबार १३:५४
नेपाल सरकारका पूर्वसचिव ई. भीम उपाध्यायले इन्जिनियर तथा प्राविधिकहरुमा विशेष अपिल गरेका छन् । नेपालमा करिब १ लाख प्राविधिक तथा इन्जिनियर रहेको बताउँदै उनले सबैलाई सहयोगका लागि आग्रह गरेका हुन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘इन्जिनियरहरु कुनै न कुनै रोजगारीमा हुन्छन्, यिनले प्रतिब्यक्ती आफ्नो आम्दानीबाट १–२ हजारका दरले मात्र […]