रोल्पा । पूर्वी रोल्पाको उवा गाउँमा व्यापक मात्रामा खेती गरिएको लागूऔषध अफिम खेती प्रहरीले नष्ट गरेको छ । थबाङ गाउँपालिका–४ उवास्थित जुत्तर, मालागिरी, नयाँ गाउँ र गुराँसे गाउँ नजिकै करिब १६ विगाहामा लगाइएको अफिम खेती आइतबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचना पाएर पुगेको प्रहरी टोलीले गाउँभन्दा मुनिको जग्गामा लगाइएको अफिम सोमबार बिहान ९ बजेतिर नष्ट गरेको हो । फुल्नै थालेको अफिमको बोट नष्ट गर्न दुई दर्जन बढी प्रहरी परिचालित भएका थिए ।
उनीहरुलाई अफिम नष्ट गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो । सूचनाका आधारमा सुलिचौरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा अफिम खेती नष्ट गर्न सुरक्षाकर्मी परिचालित भएका थिए ।
प्रहरी चौकीहरु उवा, पोबाङ र थबाङबाट अफिम खेतीबारीमा पुगेका प्रहरीहरु प्रनि वलीसहित २६ जना थिए । अफिम खेती गरिएको बारीका आसपासमा बस्तीसमेत छ । समुद्र सतहदेखि करिब २ हजार २ सय मिटर उचाइमा रहेको उक्त स्थान सदरमुकामदेखि ५३ किलोमिटर उत्तरमा पर्छ ।
‘सूचना पाएपछि प्रहरी परिचालित भएको हो । अफिम नष्ट गरेर कसको बारीमा र को–को संलग्न भएको भन्नेबारेमा अनुसन्धान थालिएको छ,’ प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।


