स्थानिय तह निर्वाचनका लागी मतपत्रको छपाइ कार्य सम्पन्न

कर्णालीदृष्टी संवाददाता २३ बैशाख २०७९, शुक्रबार ०७:५९

काठमाण्डौ । निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।

बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यसको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो ।

उहाँले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको बताउनुभयो ।

मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराउनुभयो ।

त्यस्तै, अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।

प्रवक्ता पौडेलले भन्नुभयोे, ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ ।’

कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनि मान्य मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिएको जानकारी आयोगमा प्राप्त भएकोले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम उहाँलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको छ ।

निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको बताउनुभयो ।

Next Post

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई प्रहरीसहित दश जना घाइते

२३ बैशाख २०७९, शुक्रबार ०७:५९
रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा […]

सम्बन्धित समाचार