दैलेख: दैलख महाबु गाउँपालिकाले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज बनाएको छ । यसअघि एन सि.सि. बैंक महाबु शाखा मार्फत मात्रै भत्ता दिने व्यवस्था रहेको थियो, अहिले टोल–टोल र घरदैलोमै वितरणको प्रबन्ध मिलाइएको हो ।
ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षा भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैंकसँगको समन्वयमा घरदैलोमै सेवा पुर्याइएको गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङले बताए । गुरुङका अनुसार बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा पालिकाले बैंकको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडास्तरमै भत्ता दिने व्यवस्था गरेको बताउदै, ´७४ बर्षिय जेष्ठ नागरिक चन्द्रा रोकायलाई भत्ता हस्तान्तरण गरेका थिए । अहिले आफ्नै घर आँगनमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएको भन्दै स्थानीय खरिगैरा -१, का ज्येष्ठ नागरिक तेजबहादुर थापाले खुसी व्यक्त गरे । ‘बैक टाढा हुँदा भत्ता लिन जान एक दिन पुरै लाग्थ्यो, बैंकमा लाइन लाग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसपालि गाउँमै भत्ता बुझ्न पाइयो । मजस्ता थुप्रै ज्येष्ठ नागरिकलाई निकै सुबिस्ता भयो ।
गाउँपालिकाको केन्द्र (बैंक भएको स्थान) गैडाबाज पुग्न ज्येष्ठ नागरिकलाई कठिनाइ हुने गरेको थियो । हाल ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधि र कर्मचारीलाई मञ्जुरीनामा दिएपछि बैंकसँगको सहकार्यमा गाउँमै रकम भुक्तानी गरिएको हो ।
बैंकको घुम्ति शिविरमार्फत् वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो । सबै वडा कार्यालयमार्फत् भत्ता वितरण गरि सहज बनाइएको महाबु गाउँपालिकाका उपाध्यक्ष मन्जु शर्मा पाण्डेले जानकारी दिइन् । एन सि.सि. बैंक महाबु शाखाका म्यानेजर कमल भण्डारीले घुम्ती शिविर सञ्चालनका लागि प्रत्येक वडामा गएर अझै ब्यबस्थापन गरेर भत्ता वितरण गरिने बताए ।