रुकुम पश्चिमका दुई झोलुङ्गे पुलले कृषक र विद्यार्थीलाई सहजता

कर्णालीदृष्टि संवाददाता ६ असार २०८२, शुक्रबार २३:१८

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँका किसान र बालबालिकालाई सबैभन्दा बढी सहजता दिलाएको छ ।

गत आर्थिक वर्षमा वडाको भेरीखोला–माङने र मानपुर–हिल जोड्ने गरी निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँको कृषि उत्पादन संकलन तथा ढुवानी र बालबालिकालाई विद्यालय आवतजावतमा सजिलो बनाएका छन् । भेरीखोलाबाट माङने जोड्ने पुल ३५६ मिटर र मानपुरबाट हिल जोड्ने पुल ३४८ मिटर लामो रहेको छ । वडा अध्यक्ष धनबहादुर खड्काले भेरीखोला माङने पुलले कामीबुढा टोलको भेरीखोला र छहरा गलम्पाटी टोलको ठारीखोली बस्तीलाई जोड्ने काम गरेको जानकारी दिए । पुल निर्माण पश्चात ठारीखोली बस्तीका स्थानीयलाई आउजाउमा सहज हुनका साथै यहाँको उत्पादन र ढुवानीका काममा सहयोग भएको । यो पुलले रोल्पा जिल्लासँग जोगिएका ठाउँमा आउजाउमा पनि सुविधा थपिएको छ ।

त्यसैगरी झुल्खेत गलमपाटी टिला सडकखण्डको मानपुर सडकबाट मुसिकोट नगरपालिका –९ को हिल जोड्ने पुलले त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ बाँदरपानी, गैरीनेटा, चिनछहरे, वडा नम्वर १ को दहभागे, रोल्पाको परिवर्तन गाँउपालिकाका धेरै बस्तीहरुमा आउजाउमा सहजता भएको छ । जिल्ला सदरमुकामसँग जोडिएको शितलपोखरी हुँदै चुन जोडेको सडकखण्डमा यो पुल रहेको छ । यो पुलले हिलबाट वडा नम्वर ६ मा रहेको झुल्खेतमा रहेको विद्यालयमा पठनपाठनका लागि आउने बालबलिकाहरुलाई सहज बनाएको छ । बर्षायामको बेला पुल नहुँदा बालबालिका तथा सर्वसाधारणहरुलाई आउजाउमा समस्या हुने गरेको थियो ।

बाल कल्याण मावि झुल्खेतका शिक्षक षडानन्द शर्माले कक्षा ५ भन्दा माथिका बालबालिकाहरु हिल गाउँबाट झुल्खेत पठनपाठनका लागि आउने गरेको र पुलको कारण उनीहरुलाई असाध्यै सहज भएको बताए । बिशेष गरेर बर्षाको समयमा खोला बढ्दा बालबालिकाहरुलाई विद्यालय पठाउन डर हुने गरेको थियो । दुबै पुल स्थानीय पुर्वाधार विकास कार्यक्रममार्फत हिमशिखर निर्माण सेवाले निर्माण गरेको हो । अघिल्लो वर्ष नै बन्नुपर्ने पुल सडक सुविधा नपुगेको भन्दै निर्माण कम्पनीले सामाग्री ढुवानीमा ढिलाई गरेको थियो ।

वडाको सबैभन्दा लामो भेरीखोला माङने पुलसम्म जानलाई मुख्य सडकदेखि गोरेटो बाटो समेत निर्माण गरिएको छ । वडा कार्यालयले तीन लाख लगानी गरेर ३४३ मिटर लामो गोरेटो बाटो निर्माण गरेको जनाएको छ । गोरेटो बाटो निर्माणपछि कामीबुढा पार्क चौर सडकखण्डबाट पुल हुँदै भेरीखोला गाउँ जाने सडक पुग्न स्थानीयलाई सहज भएको छ ।

Next Post

जुम्लाको सिंजामा पहिलो पोषण प्रदर्शनी, कुपोषण न्युनिकरणमा रैथाने बालीमा जोड

६ असार २०८२, शुक्रबार २३:१८
जुम्ला । जुम्लामा कूपोषण न्युनिकरणका लागि उत्पादन बृद्धिमा स्थानीयतहले जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । जुम्लाको सिंजा गाउँपालिकाले पहिलो पटक आयोजना गरेको पोषण प्रदशनी मेलामा सहभागी सरोकारवालाले रैथाने बालीको उत्पादन बढाउनु पर्नेमा जोड दिएका हुन् । रैथानेबालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा […]