डिसी :मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी एक नेपाली सहित ४ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी न.पा.६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।
उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन।
अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टीमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो ।
उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृतिमा अध्ययनको लागि अमेरिका आएका थिए ।
उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्ध गोली चलाइरहेका थिए । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भयो ।
एभर्टनले पहिले उक्त घरमा आगो लगाए, आगो लागेपछि बाहिर भाग्ने क्रममा घिमिरे लगायत ४ जनालाई उनको गोली लागेको थियो । घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।
यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर (२२ ग्रीनी स्ट्रीटमा)अस्पतालमा अधिकारीको उपचार भइरहेको छ । २६ वर्षीय अधिकारी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका थिए ।
उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । अस्पतालमा उपचाररत अधिकारीलाई भेट्न महवाणिज्य दूत प्रेमराजा महत अस्पताल पुगिसकेका छन् भने राजदूत डा.युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जानकारी दिए ।