सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताउनुभएको छ ।
यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उहाले बताउनुभयो ।
मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान ल्याउन माओवादीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
तर, अन्य दलभित्र केही प्रतिगामी सोच भएका व्यक्तिहरुले गर्दा संविधान कार्यान्वयनमा समस्या भएको उहाको भनाई थियो ।
बस्नेतले संविधानमा समाजवादको कुरा उल्लेख भएकाले समाजवादका विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो ।


