काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थप्ने भएका छन ।् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालयमा दाबी गरिरहेकै बेला प्रधानमन्त्रीले आफ्नो दलबाट नेता खड्कालाई मन्त्री बनाउन लागेका हुन । ‘एकै पटक मन्त्रिपरिषद् विस्तार गर्न सकिएन,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत भएकाले राष्ट्रसंघको महासभामा साइड लाइन बैठकहरू पनि गर्नुपर्छ, त्यसैले परराष्ट्रमन्त्रीको नेतृत्व अत्यावश्यक जस्तै भयो ।’
मन्त्रिपरिषद् ढिलाइमा प्रधानमन्त्रीले माधव नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपाको कारण देखाउँदै आएका छन । मन्त्रिपरिषद्मा सिट नपाउने नेताहरूले २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने आशंकामा यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग गरिरहेका छन ।
संघीय संसद्मा २१ सांसद रहेको जसपामा ५ जना सांसदले चाहेमै पार्टी विभाजन हुन सक्छ । मन्त्रिपरिषद् विस्तारपछि पार्टीमा असन्तुष्टि चुलिने र त्यसले विभाजन निम्ताउन सक्ने भय यादवमा छ ।
‘राजनीतिक दलको घाँटीमा तरबार झुन्ड्याएर मन्त्रिपरिषद् विस्तार हुन सक्दैन । यो अध्यादेशले तत्काल राजनीतिक दलमा र अन्ततः मुलुकलाई अस्थिरतातिर लैजाने निश्चित छ,’ मंगलबार सञ्चारकर्मीसंग यादवले भनेका थिए, अध्यादेशले कुनै दल विशेषभित्र नभई सबै दलभित्र अस्थिरता निम्त्याउने खतरा छ ।’
उता दल विभाजनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अहिले नै अध्यादेश खारेज नगर्न नेकपा एसका अध्यक्ष नेपालको आग्रह छ । त्यसैले सरकारले पूर्णता पाउन नसकेको गठबन्धनका नेताहरूको भनाइ छ ।
सत्ता घटक चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर एकैसाथ मन्त्रिपरिषद् विस्तार गर्ने गरी केही दिनदेखि बालुवाटारमा शीर्ष र दोस्रो तहका नेताहरूबीच अनौपचारिक छलफल पनि चलिरहेको छ । तर, मंगलबार साँझसम्म एस र जसपा तत्काल सरकारमा जान तयार भइसकेका छैनन ।
एकीकृत समाजवादी पार्टी र जसपाबाट दुई÷दुई जना भए पनि प्रतिनिधित्व गराउन सकिन्छ कि भनेर कुराकानी भइरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल सकारात्मक देखिए पनि जसपा अध्यक्ष यादव अध्यादेश खारेज नभएसम्म मन्त्री नपठाउने अडानमा हुनुहुन्छ,’ अनौपचारिक छलफलमा सहभागी कांग्रेसका एक नेताले भने ।
कांग्रेसले प्रधानमन्त्रीसहित ७ र माओवादीले ६ मन्त्रालय लिने मोटामोटी समझदारी भइसकेको स्रोतको दाबी छ । तर, नेकपा एस र जसपालाई दिने सिट छाडेर मन्त्रिपरिषद् विस्तार गर्न देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले किन सकेका छैनन ? राजनीतिक वृत्तमा यो पनि प्रश्न छ । मन्त्री छान्न दाहाललाई पनि सकस छ, त्यस्तै प्रधानमन्त्री देउवाले कांग्रेस महाधिवेशनको हिसाबकिताबलाई महत्त्व दिएका छन् ।
त्यसैले महाधिवेशनमा आफूलाई घाटा हुने सर्तमा मन्त्रिपरिषद् विस्तार गर्न उनी तयार छैनन । जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश खारेजी हुनुपर्ने विषय आफूहरूले उठाए पनि कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री पठाउने विषयमा आफूहरूको रोकतोक नरहेको बताए । ‘मूल कुरा नै मन्त्रालय भागबन्डामा अड्किएको छ, हामी तत्काल जान नसके पनि माओवादी र कांग्रेसले मन्त्री पठाउन सक्नुहुन्छ, हामीले रोकेका छैनौं,’ उनले भने ।
एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पनि पछिल्ला समयमा आफ्नो दलका कारण मन्त्रिपरिषद् विस्तार नरोकिएको दाबी गर्छन् । ‘मन्त्रीका नाम र मन्त्रालयको भागबन्डा टुंग्याउने विषयमा कमरेड माधव नेपाललाई हाम्रो पार्टीले जिम्मेवारी दिइसकेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अहिले हाम्रो कारणले होइन । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाको कारणले हो । कांग्रेस र माओवादी मिलेर पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुहुन्थ्यो । किन गर्नुभएन त्यो त प्रधानमन्त्रीले जान्ने कुरा हो ।’
कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले भने अब कांग्रेस र माओवादीका मात्र भए पनि मन्त्री थपिने जनाएका छन् । नेपाल र यादवले पर्खन आग्रह गरेकै कारण प्रधानमन्त्रीले ढिलाइ गरे पनि अब पर्खन नसकिने उनको भनाइ छ । ‘अब त अति नै ढिलाइ भइसक्यो ।
मन्त्रीका नाम प्रधानमन्त्रीले मागिरहनुभएको छ । नाम नआएपछि ढिलाइ भयो । अब माधव र उपेन्द्रजीले नाम दिनुभएन भने पनि उहाँहरूका लागि मन्त्रालय छुट्याएर कांग्रेस र माओवादीबाट मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ,’ महतले भने, ‘प्रधानमन्त्री पनि अब ढिलाइ गर्ने मुडमा हुनुहुन्न । कांग्रेस र माओवादीबाट भए पनि एक÷दुई दिनमा विस्तार गर्न सक्नुहुन्छ ।’
आकर्षक मन्त्रालय तानातान
सत्ता गठबन्धनका चार दलबीच शक्तिशाली र आकर्षक मन्त्रालय लिने होडबाजी उत्तिकै छ । गृह र अर्थ मन्त्रालय सुरुकै दिनमा कांग्रेस र माओवादीले बाँडिसकेका छन । परराष्ट्र मन्त्रालय पनि कांग्रेसले नै लिएको छ । जसपा अध्यक्ष यादवले परराष्ट्र मन्त्रालय लिएर आफैं पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहेका थिए ।
परराष्ट्र कांग्रेसले नछाडेपछि यादव असन्तुष्ट बनेका छन । त्यसपछि सबैभन्दा बढी तानातानमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानीलगायत बजेट बढी रहेका मन्त्रालय छन । चारै दलको मुख्य दाबी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छ ।
कांग्रेस र माओवादीले शक्तिशाली मन्त्रालय लिइसकेकाले एकीकृत समाजवादी र जसपा दुवैले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रालयको टुंगो नलाग्दै मन्त्रीको नाम मागेका छन । सरकारमा पठाइने नामका आधारमा पनि मन्त्रालयको टुंगो लगाउनुपर्ने तर्क प्रधानमन्त्रीको छ । एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्रीसँग ढुक्क हुने स्थिति नभएको बताउन थालेका छन ।
मन्त्रालयको भागबन्डामा कुरा मिलेपछि मात्रै नाम पठाइने उनीहरूको जवाफ छ । शक्तिशाली र आर्थिक रूपमा आकर्षक मन्त्रालय तानातानमा परिरहेकाले मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने सम्भावना कम छ । ‘हामीले दुई÷तीन चरणमा गर्दा पनि हुन्छ, चाँडै गर्नुपर्छ भन्दै आएका छौं तर सबैलाई कमाउने मन्त्रालय चाहिएकाले कुरा मिलेको छैन,’ माओवादीका एक नेताले भने ।
राज्यसत्ताका शक्तिशाली र मुख्य आकर्षक मन्त्रालय गृह र अर्थ हुन । प्रधानमन्त्री नियुक्ति भएकै दिन गृह कांग्रेसले र अर्थ माओवादी केन्द्रले लिइसकेका छन । यी दुईमध्येमा पनि शक्ति र साधनस्रोतको परिचालनका हिसाबले गृहलाई सबैभन्दा बढी आकर्षक मानिन्छ ।
# कान्तीपुरबाट ।