सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँबाट सुर्खेत ल्याइएको बासमती चामल विक्री वितरणमा रोक लगाइएको छ ।
काठमाडौँको थापाथलीस्थित कम्पनीको गोदाममा रहेको कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने समाचार सार्वजनिक भएपछि बुधवार राष्ट्रिय उपभोक्ता मञ्चको पहलमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकारसँगै उपभोक्ता अधिकारकर्मीको रोहवरमा १ हजार ९ सय ७५ क्विन्टल बासमति चामलको विक्री वितरणमा रोक लगाइएको हो ।
काठमाडौँबाट आएको कुल १ हजार ९ सय ९० क्विन्टल चामल मध्ये १५ क्विन्टल चामल विक्री भइसकेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापा को भनाई छ ।
प्रमुख थापाले खाद्य व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा सुर्खेतमा कीरा परेर कुहिएको अस्वास्थ्यकर चामल विक्री वितरण भइरहेको भन्ने खबर पाउनसाथ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी र प्रहरीको सहयोगमा अनुगमन गरी मुचुल्का उठाएर अर्को आदेश नहुन्जेलसम्मका लागि विक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।
प्रमुख थापाका अनुसार अनुगमनका क्रममा कीरा परेर कुहिएको अस्वास्थ्यकर भनिएको चामल सरसरी हेर्दा त्यस्तो नपाइए पनि विभागको आदेश नै अन्तिम निर्णय हुनेछ ।
“खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका तर्फबाट विभागलाई काठमाडौँको थापाथलीस्थित कम्पनीको गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल सुर्खेत पठाइएको बारेमा थप अनुसन्धान र छानबिन गरिदिन आग्रह गरेका छौँ,” उनले भने , “यस अघि नै विभागले थापाथलीस्थित कम्पनीको गोदाममा रहेको बास्मती चामल विक्री वितरणमा रोक लगाएको भन्ने बुझिएकाले त्यो बारेमा थप स्पष्ट नहुन्जेलसम्म सुर्खेत ल्याइएको चामल विक्री वितरण हुँदैन ।”
उहाँले ‘रि पोलिसिङ’ गरी काठमाडौँबाट विक्रीका लागि सुर्खेत पठाइएको चामल यकिन हुने बित्तिकै ल्याबमा चेकजाँच गरी खान योग्य वा अयोग्य बारे थाहा हुने उनको भनाई छ ।
कम्पनीलाई बदनाम नगर्न सुझावखाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले काठमाडौँबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा १ हजार ९ सय ९० क्विन्टल बास्मती चामल आएको बताए ।
खाद्य कम्पनीले सुर्खेतमा बास्मती चामल पठाएमा सरसरी हेर्दा कुनै कैफियत नदेखिएपछि प्रादेशिक कार्यालयका कर्मचारीहरूले समेत दैनिक उपभोग गरिरहेको उनले जानकारी दिए ।
“खाद्य कम्पनीले यसअघि कर्णालीका दशै जिल्लाका लागि काठमाडौँ, लहान, विरगञ्ज, धनगढी, नेपालगन्ज र बर्दियालगायतका ठाउँबाट चामल आउने गरेको छ,” ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रतिष्ठालाई बदनाम नगरी छिट्टै सत्य तथ्य चेकजाँच गर्न डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापा आग्रह छ ।