सेना र दैलेखको इतिहाससँग जोडिएको तोप ५० वर्षपछि पुनःस्थापना गर्ने तयारी

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार १७:१८

दैलेख । २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत पुर्याईयो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५० वर्षपछि दैलेखमा पुनःस्थापना गर्न लागिएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाउने अन्तिम तयारी भएको जनाएको छ ।

दैलेख काडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृत दिएको बताउनुभयो ।

हामीले पश्चिम कमान्ड हेडक्वार्टरलाई बारम्बार पत्रचार गरेका थियौं,’ उहाले भन्नुभयो, ‘नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिने भएपछि तोप पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको हो । विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ । सुन्दरी तोप पितलबाट बनेको हो ।

दुई महिनाभित्र नेपाली सेनाको ट्रकमार्फत दैलेखको कोतगढीमा तोप पुनःस्थापना गर्ने तयारी छ । कोतगढी नेपाली सेनाको स्वामित्व रहेको छ । तोप दैलेख पुनःस्थापनाको पहल गरिरहेका तत्कालीन इन्द्रदल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढीका संरचना पुरानै अवस्थामा फर्काउन जरुरी रहेको औंल्याउनुभयो ।

तोपको सुरक्षाको जिम्मा स्थानीयलाई दिँदा सुरक्षित नहुन सक्ने हुदा नेपाली सेनाले नै सुरक्षाको जिम्मेवारी लिनुपर्ने उहालेब ताउनुभयो । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीको अहिले नारायण नगरपालिकाले आफ्नो जिम्मा लिएको छ ।

नेपाली सेनाको पश्चिम कमान्डका सेनापति प्रेमबहादुर शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रर्वद्धनका लागि कानुन बाधक नहुने बताउनुभयो । स्थानीयको माग अनुसार दैलेख ल्याउन लागिएको उनको भनाई छ । सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो । उक्त तोपको खोजी भइरहेको सेनापति शाहीले बताउनुभयो ।

नारायण नगरपालिका वडा १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले ऐतिहासिक तोप पुनःस्थापनाले दैलेखको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनुभयो ।

तोप राख्नलाई गढीमा संरचना बनाउन थालिएको छ । अहिलेसम्म गढीको मर्मतसम्वार लागि एक करोड पाँच लाख खर्च भएको जानकारी उहाले दिनुभयो । स्थानीय ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले कोतगढीको ऐतिहासिक गरिमा कायम गर्न तथा कोतगढीको पुरानै संरचनामा फर्काउनुपर्ने बताउनुभयो । # Ekantipur.com

Next Post

आज क्रिसमस: प्रेम, शान्ति र मुक्ति दिवसका रुपमा मनाइँदै

९ पुष २०७८, शुक्रबार १७:१८
काठमाण्डौ – आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले […]