माओवादी केन्द्र को आठौँ राष्ट्रिय महाधिवेशन : दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन गर्दै सकियो

पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्ने

कर्णालीदृष्टी संवाददाता १९ पुष २०७८, सोमबार ०६:५८

काठमाण्डौ – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । गएको पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सकिएको हो ।

महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो ।

बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने उहाँले बताउनुभयो ।

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।

यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको दाबीसमेत गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबीसमेत गर्नुभयो ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताउनुभयो ।

उहाँले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनुभयो ।

माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ ।

Next Post

फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे

१९ पुष २०७८, सोमबार ०६:५८
काठमाण्डाै – फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ । यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ । सन् २०१९ […]