भुमिहीन नागरिकको व्यवस्थापनका लागी दैलेखका तीन पालिका र भूमि आयोगबिच सम्झौता

कर्णालीदृष्टी संवाददाता १२ चैत्र २०७८, शनिबार ०८:२१

दैलेख । लामो समयदेखि भूमिहीन बनेका र अव्यवस्थित रूपमा बसोबास गरिरहेका भूमिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका तीन नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।

लालपुर्जाबिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका ११ वटा स्थानीय तहमध्ये तीनवटा तहले आयोगसँग सम्झौता गरेका हुन् । नारायण, दुल्लु र आठबिस नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच गत मंगलबार सम्झौता भएको हो ।

लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण तथा उचित रूपमा बसोबासको व्यवस्थापनका लागि भूमि आयोगसँग सम्झौता गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले जानकारी दिनुभयो ।

सम्झौता गरिएसँगै नारायण नगरपालिकाको रातामाटे, नमूना बस्तीलगायतका पालिकाभित्रका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका लालपुर्जाविहीन नागरिकहरूले प्रक्रियाअनुसार जग्गा प्राप्ति गर्ने बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताउनुभयो ।

यस्तै आठबिस नगरपालिकाले पनि लालपुर्जा वितरण गर्ने अभियानअन्तर्गत आयोगसँग सम्झौता गरिएको नगरप्रमुख खड्गराज उपाध्यायले बताउनुभयो । उहाका अनुसार आयोगसँग सम्झौता भइसकेको र अब प्रक्रियागतरूपमा भूमिहीन नागरिकहरूलाई छिटोभन्दा छिटो जग्गा प्राप्तिका लागि पक्रिया अगाडि बढाइनेछ ।

यस्तै दुल्लु नगरपालिकाले पनि सम्झौता भएसँगै नगरपालिकाभित्रका भूमिहीन दलित सुकुमबासी बस्तीको पहिचान गर्ने र उनीहरूको उचित व्यवस्थापन तथा जग्गा प्राप्तिका लागि काम सुरु गर्ने जनाएको छ ।

सम्झौता गरिएका तीनवटै पालिकाहरूमा अब तत्काल चरणबद्ध रूपमा अन्तरक्रियालगायतका कार्यक्रम गरेर भूमिहीन नागरिकहरूको पहिचान तथा व्यवस्थापनका काम सुरु गर्ने राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले बताउनुभयो ।

Next Post

चैत मसान्तभित्र हतियार बुझाउन जाजरकोट प्रशासनको अल्टिमेटम

१२ चैत्र २०७८, शनिबार ०८:२१
जाजरकोट । इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले अल्टिमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झलक केसीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको बताउनुभयो । प्रशासनले एक […]