‘जलाधार योजनामा टाठाबाठाको रजाइँ’

कर्णालीदृष्टी संवाददाता ७ बैशाख २०७९, बुधबार ०६:५३

मुगु । मुगुमा भू तथा जलाधार व्यवस्थापनका योजनामा टाठाबाठाले मात्र रजाइँ गरेको सरोकारवालाले गुनासो गरेका छन । सदरमुकाम गमगढीमा आयोजना गरिएको भू तथा जलधार व्यवस्थापन योजना तर्जुमा गोष्ठीका सहभागीले समुदायको आवश्यकताविपरीत व्यक्तिको भनसुनका आधारमा प्रदेश र संघीय सरकारले योजना ल्याउने गरेको बताउनुभयो ।

भनसुनका आधारमा आएका योजनामा कुनै काम नगरी रकम सिध्याउने गरिएको सरोकारवालाको भनाइ छ । जिल्लास्तरमा जलाधारका योजनाको व्यापक दुरुपयोग भएको छायानाथरारा नगरपालिका–४ का वडाध्यक्ष विष्णुकुमार भामले बताउनुभयो  ।

‘हामी जनप्रतिनिधिसँग कुनै समन्वय र सहकार्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘दलका कार्यकर्ताले हाम्रो सिफारिसबिनै कार्यक्रम ल्याउँछन् र आफूखुसी योजना बनाई भुक्तानी लिन्छन ।’ बाढी र पहिरो रोकथामका लागि तटबन्ध निर्माणका करिब आधा दर्जन योजना आफ्नो वडामा आए पनि कुनै पनि सम्पन्न नभएको उहाले बताउनुभयो  ।

भू तथा जलाधार कार्यालयले भूक्षय नियन्त्रणका लागि तारजाली वितरणसमेत गर्दै आएको छ । तर १० देखि १५ लाख रुपैयाँसम्मका अधिकांश योजनाहरूमा दलका कार्यकर्ताको रजाइँ मात्र हुने गरेको खत्याड गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर रावतले बताउनुभयो  ।

‘वडा र गाउँपालिकाले माग गरेका जलाधारका योजना स्वीकृत भएर आउँदैनन्,’ उनले भने, ‘प्रदेशका मन्त्री र सचिवसित जसको सम्बन्ध छ, उसैले १५ लाखसम्मका योजना ल्याई रकम कुम्ल्याउने गरेको छ ।’ योजनाको स्टमेटअनुसार काम नभई सरकारी बजेटको दुरुपयोग भइरहेको उहाँले बताउनुभयो  ।

‘एउटा योजनामा कम्तीमा १ सय तारजाली हाल्नुपर्ने स्टमेट हुन्छ,’ उहाँले भन्नुभयोे, ‘तर २०÷२५ वटा तारजाली हालेर बिल मिलाएर दलका कार्यकर्ताले धमाधम भुक्तानी लिइरहेका छन ।’ उहाँले अनुगमन, सार्वजनिक सुनुवाइ, योजनास्थलमा होडिङ बोर्ड राख्नेलगायत काम नहुँदा योजनामा अनियमितता भएको आरोप लगाउनुभयो  । गत आर्थिक वर्षमा मुगुमा ९ वटा जलाधारका योजना सञ्चालन गरिएको थियो । # कान्तीपुरबाट

Next Post

भन्सार छलेर ल्याइएको खसीबोकासहित बर्दियामा १ पक्राउ

७ बैशाख २०७९, बुधबार ०६:५३
बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको ३७ खसीबोका बोकेको जिपसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार गुलरिया—६ स्थित जाँच गर्नेक्रममा जिपमा ल्याएका खसी, बोकासहित सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका—३ का २६ वर्षीय राजकुमार बानियाँलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले करिब ६ […]